पञ्चायतकालमा आफै थुनिएको कोठा खोज्दै कास्की कारागार पुगे, अध्यक्ष तिमिल्सिना
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कास्की जिल्ला कारागारको अवलोकन गरेका छन्। पञ्चायतबिरुद्धको भूमिगत आन्दोलनका क्रममा सोही कारागारमा करिब एकवर्ष बिताएका तिमिल्सिनाले शनिबार त्यहाँ पुगेर थुनुवा तथा कैदी बन्दीको अवस्था बुझेका हुन्।
पञ्चायतविरुद्धको संघर्षको समयमा विसं २०४२ देखि २०४६ सालसम्म विभिन्न स्थानमा गरी अध्यक्ष तिमिल्सिना चारवर्ष थुनामा परेका थिए। कास्की कारगारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष तिमिल्सना केही समय संगै बसेको थिए।
सो क्रममा उहाँले कैदी बन्दीको अवस्था, उनीहरुको सुविधा, सुत्ने स्थान, शौचालय, पुस्तकालय, खाना खाने मेसलगायत अवलोकन गरेका थिए। उनीसंगको भेटका क्रममा कैदी बन्दीका नाइकेले कास्की कारागारअन्तर्गत महिला ब्लक, पुरुषको पुरानो र नयाँ ब्लकको अवस्था र समस्याबारे जानकारी गराएका थिए ।
अध्यक्ष तिमिल्सिनाले जेल जीवनका क्रममा आफू र प्रधानमन्त्री ओली बसेको कोठासमेत हेरेका थिए। अवलोकनपछि उनले जेलको अवस्था पहिलेभन्दा धेरै सुधार भएपनि सरकारले पछिल्लो समय भनेजस्तो सुधारगृह बन्न नसकेको टिप्पणी गरे ।
‘जेल हामी बसेको समयभन्दा सफा र व्यवस्थित भएको रहेछ,’ उनले भने, ‘तर, सरकारले भनेजस्तो सुधारगृह बनाउनका लागि खाना, बस्न, स्वास्थ्य उपचारसँगै सीप तथा ज्ञानका लागि आवश्यक पूर्वाधार र अवसर जरुरी हुन्छ । त्यो अलि पर्याप्त देखिएन ।’
कास्की कारागारमा ५३ महिला र ७ सय ५ जना पुरुष गरी ७ हजार ५८ थुनुवा तथा कैदीबन्दी रहेको कारागारका निमित्त जेलर विष्णुप्रसाद सुवेदीले जानकारी गराएका थिए।
Related