मनाङमा हिमपात सवारी आगमन पूर्ण बन्द,खानेपानी पाइपमै जम्यो
"हिमपातका कारण जनजीवन प्रभावित, "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
मनाङ। हिमाल पारिको जिल्ला मनाङमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । देशका मध्यपहाडी क्षेत्रमा मौसममा आएको परिवर्तन संगै मंगलबारदेखि हिमपात भएको हो ।
हिमपातका कारण जनजीवन कष्टकर भएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। हिमपातसँगै हावा चलेपछि जिल्लाको सदरमुकाम चामेदेखि माथिल्लो भेगका विभिन्न स्थानहरुमा अत्याधिक चिसो बढेको छ ।
हिमपात र अत्याधिक चिसोका कारण सवारी साधन चल्न सकेका छैनन् । पर्यटक हिमपातका कारण रोकिएका छन् । बासिन्दाको दैनिक काम समेत प्रभावित भएको छ।
मनाङको तल्लो भेगमा अत्याधिक चिसो भएपनि हिउँ परेको छैन माथिल्लो क्षेत्रमा भने भारी हिमपात भएको छ । हिमपातको कारण जनजीवन प्रभावित भएपनि स्थानिय हर्षित भएका छन् । सुख्खा जमिनमा हिमवर्षा हुँदा बाली राम्रो हुन कृषकले बताएका छन् ।
खानेपानी पाइपभित्र पानी जम्दा केही ठाउँमा पिउने पानीको समस्या भएको छ । खानेपानीको मुहानमा हिउँ जम्दा समस्या भएको हो । धारामा पानी नआएपछि बासिन्दा पाइप खुलाउन तातोपानी लिएर मुहानतिर लागेको स्थानीयले जानकारी दिए। चिसो बढेपछि मनाङका विद्यालयहरु दुई सातादेखि बन्द छन्।
Related